Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

एनआरएन द्वारा राहत वितरण प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण

२८ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई भेटेर गैरआवासीय नेपाली संघले भूकम्प पीडितका लागि गरेको पहिलो चरणको राहतबारे जानकारी गराएका छन् ।

बुधबार १० जुनमा गृह मन्त्रालयमा भएको भेटमा उनले गैरआवासीय नेपाली संघले तीन हप्ताको अवधिमा गाउँगाउँ पुगेर करिव १४ हजार परिवारलाई त्रिपाल, खाद्यान्न र औषधि वितरण गर्नुका साथै २६ स्थानमा स्वास्थ्य शिविरसमेत संचालन गरिएको जानकारी दिए । यसका लागि बिभिन्न देशबाट ३ सय भन्दा बढी स्वयंसेवी नेपाल आएर सेवा गरेको उनले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले गरेको राहत वितरण सम्बन्धी विस्तृत प्रतिवेदन गृहमन्त्री गौतमलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष घलेले राहत वितरणका क्रममा गृह मन्त्रालयबाट भएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायले गैरआवासीय नेपाली संघसँग गरेको समन्वय र सहयोगले नै यो सफलता हात लागेको बताए । सबै जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी उनीहरुले सिफारिस गरेको स्थानमा राहत वितरण गरिएको घलेले जानकारी दिए ।

१ हजार घर बनाउने तयारी

पहिलो चरणको आपतकालीन राहत वितरण सम्पन्न भएको जानकारी दिँदै उनले अब दोस्रो चरणमा पुनर्निर्माण र पुनःस्थापना अभियानमा सहभागी हुने योजना रहेको बताए ।

३५ करोड रुपैयाँको लागतमा करिव १ हजार घर निर्माण गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष घलेले नेपाल सरकारसँगको सहकार्यमै पुनर्निर्माण अभियानमा साझेदार बन्न लागेको जानकारी दिए । यस्ता घरहरु भूकम्प प्रतिरोधी, पर्यावरणमैत्री र स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खालका हुने घलेले स्पष्ट पारे ।

उपप्रधान तथा गृहमन्त्री गौतमले संघले भूकम्प पीडितको लागि गरेको प्रथम चरणको राहत कार्यक्रमको प्रशंसा गर्दै देशले गैरआवासीय नेपालीहरुको तर्फबाट धेरै सहयोगको आशा राखेको बताए । मुलुक अब पुनर्निर्माण अभियानमा लागेको हुँदा गैरआवासीय नेपालीहरुबाट सरकारले थप सहयोगको अपेक्षा गरेको गृहमन्त्री गौतमले बताए ।

एक हजार परिवारका लागि आवास निर्माण गर्ने गैरआवासीय नेपाली संघको योजनाको स्वागत गर्दै मन्त्री गौतमले त्यस कार्यमा नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई सम्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसअघि अध्यक्ष घलेले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतसँग वेग्लावेग्लै भेट गरी पहिलो चरणको राहत वितरण र दोस्रो चरणको पुनःस्थापना अन्तर्गत एक हजार घर निर्माण योजनाबारे जानकारी गराएका थिए । आवास निर्माणका लागि गैरआवासीय नेपाली संघले तयारी तिब्र पारेको जानकारी दिँदै उनले सरकारको पुनर्निर्माण खाका कुरिरहेको जानकारी दिए ।


बेल्जियम समाचार

बिचार तथा विश्लेषण